राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले विजयकुमार सरावगीको नाममा जारी गरिएको पार्टी सदस्यता खारेज गर्न माग गरेको छ ।
जिल्ला कार्यसमितिले पार्टीका महामन्त्रीलाई पत्र पठाउँदै सरावगीको सदस्यता जिल्लाको जानकारी र सहमतिबिना जारी गरिएको भन्दै खारेजीको माग गरेको हो । रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा सदस्यता नम्बर PRS1ख-000435776 विजयकुमार सरावगीको नाममा पार्टीको पोर्टलबाट जारी गरिएको उल्लेख छ ।
पत्रमा उक्त सदस्यता जारी गरिएको विषयमा पर्सा जिल्ला कार्यसमितिलाई जानकारीसमेत नभएको दाबी गरिएको छ । साथै, उक्त सदस्यताप्रति पर्साका पार्टीका नेता तथा कार्यकर्ताहरूको असहमति रहेकाले सदस्यता खारेज गरिदिन पार्टीका महामन्त्रीसमक्ष अनुरोध गरिएको छ ।
असोज २३ गतेको पत्रमा संगठन प्रमुख प्रमोद न्यौपाने, पर्सा जिल्ला कमिटी तथा सम्पूर्ण जिल्ला र वडा कमिटीलाई समेत बोधार्थ दिइएको छ ।
जिल्ला कार्यसमितिले सदस्यता खारेजीको माग गरेसँगै पार्टीको सदस्यता वितरण प्रक्रिया र जिल्ला तहको समन्वयबारे चासो बढेको छ। यद्यपि, यस विषयमा पार्टीको केन्द्रीय नेतृत्वको आधिकारिक निर्णय तथा विजयकुमार सरावगीको प्रतिक्रिया सार्वजनिक भएको जानकारी उपलब्ध छैन ।
भिडियाे रिपाेर्ट