भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए ।
त्यसैगरी, भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित विभिन्न सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त भेटवार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।