राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा तारेख बुझ्न शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेका छन्। उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा तारेख बुझ्न बबरमहलस्थित जिल्ला अदालत पुगेका हुन् ।
लामिछानेविरुद्ध देशका पाँच जिल्लामा रहेका सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा दायर भएका थिए। तीमध्ये केही मुद्दामा प्रक्रिया अघि बढे पनि सहकारी ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा अदालतले २ माघ २०८१ मा लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी सोही दिन रिहा भएका थिए ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेपछि रुपन्देही, कास्की र चितवन जिल्ला अदालतमा रहेका ती अभियोगसम्बन्धी मुद्दा फिर्ता लिइएका थिए। हाल उनीविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग भने अदालतमा विचाराधीन रहेको छ ।
जीबी राईको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको रकम लगेर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएको हो। अदालतले उनलाई काठमाडौंमै विभिन्न अदालतमा उपस्थित भएर तारेख बुझ्न सक्ने सुविधा दिएको थियो ।