प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको उच्चस्तरीय भारत भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
प्रवक्ता क्षेत्रीका अनुसार उच्चस्तरीय भ्रमणको तयारीअन्तर्गत दुवै देशबीच छलफल हुने विषय र एजेन्डामाथि काम भइरहेको छ। तर, भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भ्रमणको मिति तय भइरहेको छैन। मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ ।’
यसअघि पनि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आपसी हित तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेन्डा तयार पारिरहेको जनाएको थियो ।
मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणसँगै अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेन्डामाथि पनि काम भइरहेको जानकारी दिएको छ ।