गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन भएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) का अनुसार उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठ बाढीले बगाएको छ । गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन् । पशुको हेरचाहमा खटिएका चार जना पनि सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । बाढीका कारण माछीखोला बजारमा समेत क्षति पुगेको छ ।
त्यसैगरी, आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ । बाढीबाट भएको थप क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे विवरण आउन बाँकी छ ।