तरकारी बोकेको पिकअप भ्यानमा लुकाएर भारततर्फ लैजान खोजिएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ। सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रनजिकै शनिबार राति उक्त गाँजासहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
मोरङको जहदा गाउँपालिका–४, रामचोकमा राति करिब ११ बजे शंकास्पद अवस्थामा रहेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यान जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको भ्यान खानतलासी गर्दा स्कुस र बन्दाकोबीभित्र लुकाइएका १९ पोका गाँजा फेला परेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार तौल गर्दा बरामद गाँजा ५७० किलो रहेको पुष्टि भएको छ।
प्रारम्भिक अनुमानअनुसार तरकारी ओसारपसारको आवरणमा गाँजा भारततर्फ लैजान खोजिएको थियो। तर, गाँजा कहाँबाट ल्याइएको थियो र तस्करीमा को–को संलग्न थिए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र पिकअप भ्यानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तरकारीभित्र लुकाएर ठूलो परिमाणमा गाँजा ओसार्न खोजिएको यो घटनाले सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि निगरानी र अनुसन्धान थप प्रभावकारी बनाउनुपर्ने देखाएको छ ।