गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केही बस्ती जोखिममा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबासतर्फ जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही वडाको सिर्दिबासमा स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछीखोलाको तल्लो बस्तीका पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
धार्चे गाउँपालिका–३ स्थित सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ । चुमनुब्री गाउँपालिका–३, सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा वरपरका सातदेखि आठवटा घर बगाएको विवरणमा उल्लेख छ ।
यसैगरी, आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली आरआरटी तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली ईएमटी लाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
बाढीबाट भएको क्षतिको यो प्रारम्भिक विवरण भएकाले थप क्षतिको विवरण संकलन तथा अवस्थाको आकलन भइरहेको जनाइएको छ ।