राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोला थुनिएर बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा बाढीका कारण पक्की तथा झोलुङ्गे पुल, विभिन्न भौतिक संरचना र बस्तीमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।
राप्रपाले बाढीबाट प्रभावित नागरिकको तत्काल प्रभावकारी उद्धार गर्न, घाइतेको उपचार सुनिश्चित गर्न तथा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गरेको छ ।
त्यस्तै, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सुरक्षित आवास र आवश्यक खाद्यान्नको व्यवस्था गर्न तथा जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनाका लागि सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्ने राप्रपाको माग छ ।
राप्रपाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेको छ ।