वडा दसैंको सार्वजनिक बिदामा पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगंज खुला रहने भएको छ । अदालतले बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा अन्य अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार घटस्थापनादेखि १५ दिनसम्म अदालतबाट अत्यावश्यक न्यायिक सेवा प्रवाह गरिनेछ ।
उनका अनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहनेछ । सार्वजनिक बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी कामकारबाही सञ्चालन गरिनेछ ।
उपरजिस्ट्रार पाण्डेका अनुसार बिदाको समयमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा वाणिज्यतर्फ पक्राउ पुर्जीको अनुमतिसहितका अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ ।
दसैं बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको अदालतले जनाएको छ ।
अदालतका अनुसार घटस्थापना, विजयादशमी र शनिबारबाहेकका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गरिनेछ ।