नेपाल रिकण्डीसन अटो व्यवसायी सङ्घ र युरोलोजी एण्ड किड्नी अस्पतालबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सङ्घले आयोजना गरेको बडादसैँ तथा शुभदीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सम्झौता गरिएको हो । सम्झौताअनुसार सङ्घमा आबद्ध सदस्यले अस्पतालमा उपलब्ध योग्य स्वास्थ्य सेवामा २० प्रतिशत र तोकिएका औषधिमा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रविण लामिछाने र अस्पतालका तर्फबाट सञ्चालक तथा युरोलोजिस्ट एवं किड्नी ट्रान्सप्लान्ट सर्जन डा। विजयमान सिंह कटवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सङ्घका सदस्यले बिरामी दर्ता शुल्क, प्रयोगशालामा गरिने परीक्षण तथा निदानसम्बन्धी शुल्क, अस्पतालको शय्या तथा आवास शुल्क, चिकित्सकको परामर्श तथा व्यावसायिक शुल्क र युरोलोजी तथा मिर्गौलासम्बन्धी योग्य उपचार प्रक्रियामा छुट पाउनेछन् ।
छुट सुविधा लिन सङ्घको सदस्यता प्रमाणित गर्नुपर्नेछ । सदस्यता प्रमाणीकरणका लागि आवश्यक कागजात तत्काल उपलब्ध नभएमा वा छुट पाउने योग्यता पुष्टि हुन नसकेमा आवश्यक प्रमाणीकरण तथा बिलिङ समायोजनपछि छुट उपलब्ध गराउन सकिने व्यवस्था सम्झौतामा गरिएको छ ।
त्यस्तै, बिरामीको बिलमा छुटको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र सहमतिमा तोकिएको छुटदर परिवर्तन गर्न दुवै पक्षबीच पूर्वलिखित सहमति आवश्यक पर्ने व्यवस्था गरिएको छ । छुटको दायरा तथा सर्तमा हुने परिवर्तन पनि आपसी सहमतिमा गर्नुपर्नेछ ।
सम्झौताले अस्पतालको चिकित्सकीय निर्णय र व्यावसायिक स्वतन्त्रतालाई समेत कायम राखेको छ । बिरामीको परीक्षण, औषधि सिफारिस, उपचार प्रक्रिया, भर्ना तथा अन्य उपचारसम्बन्धी निर्णय चिकित्सकको स्वतन्त्र व्यावसायिक निर्णय र बिरामीको स्वास्थ्य अवस्थाका आधारमा हुने सम्झौतामा उल्लेख छ ।
यस सम्झौताले नेपाल रिकण्डीसन अटो व्यवसायी सङ्घमा आबद्ध सदस्यलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।