गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको गेग्रानसहितको आकस्मिक बाढीको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को टोली परिचालन गरिएको छ । बाढीमा परी चुमनुब्री गाउँपालिका–६ का दुई महिलासहित पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको कारण अध्ययन गर्न तीन सदस्यीय भूगर्भविद्को टोली खटाइएको छ । त्यस्तै, सडक सञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुलीडाँडाको बीचमा पहिरो गएपछि बूढीगण्डकी नदीको बहाव थुनिएको थियो । पहिरोले थुनिएको नदीको बहाव खुलेपछि आकस्मिक बाढी आएको हो । बाढीमा परी चुमनुब्री–६ को चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित आसपासका सातदेखि आठवटा घर बगाएको प्राधिकरणले जनाएको छ । त्यस्तै, चुमनुब्री–३ को न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ तथा ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ ।
बाढीका कारण माछिखोलाका तल्लो बस्तीका २० देखि २२ घर जोखिममा परेका छन् । बूढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरणसमेत बगाएको प्राधिकरणले जनाएको छ । बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा पनि क्षति पुर्याएको छ ।
बाढीको सूचना आइतबार बिहान ६ बजे प्राप्त भएपछि प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन गरेको थियो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त सूचना सर्वसाधारणसम्म पुर्याउन एसएमएसमार्फत पूर्वसूचना पनि सम्प्रेषण गरिएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका हेलिकोप्टरमार्फत हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।
प्राधिकरणका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन् । विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीका थप ५० जनाको टोली तयारी अवस्थामा राखिएको छ । गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । साथै, जोखिमयुक्त पुल र सडक प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।