सुन तस्करीको जालो तोड्न पटक–पटक ठूला अनुसन्धान र कारबाही भए पनि नेपालमा सुन तस्करी नियन्त्रण हुन सकेको छैन। पछिल्लो एक दशकमा हवाई तथा स्थलमार्ग हुँदै तस्करी गरिएको ५७९ किलो २१८ ग्राम सुन बरामद भएको छ ।
पछिल्लो घटनामा बिहीबार काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय झोउ लाङक्विन, ३७ वर्षीय हान फेई र ३६ वर्षीय वाङ जिआनजेङ रहेका छन् ।
प्रहरीले लेदो बनाएर राखिएको अवस्थामा सुन बरामद गरेको जनाएको छ। घटनास्थलबाट सुन तताउने, गलाउने, ढिक्का बनाउने र जोख्ने उपकरणसमेत फेला परेका छन्। यसले उक्त स्थानमा सुन प्रशोधन गरी बिस्कुट आकारमा तयार पार्ने काम भइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकले हाल अमेरिकामा बस्ने एक व्यक्तिको घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको पाइएको छ। उनीहरूले उक्त घर साउन ८ गतेदेखि भाडामा लिएका थिए। चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको पनि खुलेको छ ।
प्रहरीका अनुसार उक्त घरमा सुन पगाल्ने र बिस्कुट बनाउने काम हुँदै आएको थियो। घटनामा संलग्न व्यक्तिहरूको भूमिका, सुनको स्रोत र तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो एक दशकमा ठूलो परिमाणमा सुन बरामद हुनु र विभिन्न प्रकरणमा अनुसन्धान तथा मुद्दा चलाइए पनि तस्करीका घटना दोहोरिइरहनुले यसको नियन्त्रणमा चुनौती कायम रहेको देखाउँछ ।
प्रश्न अझै उही छ—वर्षौँदेखि ठूला अनुसन्धान र कारबाही भइरहँदा पनि सुन तस्करीको सञ्जाल किन तोडिन सकेको छैन? बरामद सुन र पक्राउ परेका व्यक्तिभन्दा माथिसम्म पुगेर तस्करीको मुख्य सञ्जाल पहिचान गर्न अनुसन्धान सफल होला ?