प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावली सूचीबाट ३ हजार ४७२ जनाको नाम हटाएको छ। नागरिकता त्यागेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका मतदाताको नाम सूचीबाट हटाइएको हो ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मृत्यु दर्ता भएका १ हजार ९६४ मतदाताको नाम हटाइएको छ। वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको ढकालले जानकारी दिए ।
त्यस्तै, दोहोरो मतदाता नामावलीमा परेका १ हजार ५०२ जनाको नाम हटाइएको छ। निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो नाम दर्ता भएको पाइएपछि ती नाम हटाइएको निर्वाचन अधिकारी ढकालले बताए ।
यसैगरी, नागरिकता त्यागेका ६ जनाको नाम पनि मतदाता नामावलीबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागसम्बन्धी विवरणका आधारमा उनीहरूको नाम हटाइएको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले हटाइएका मतदाताको नामावलीसमेत प्रकाशित गरेको छ। प्रकाशित नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्काल निर्वाचन कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।
निर्वाचन आयोगले आगामी ३० असोजमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए। जिल्लामा दुई निर्वाचन क्षेत्र र १० वटा स्थानीय तह रहेका छन् ।