कास्की । पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ । झडपमा दुबै पक्षबाट एक दर्जनबढी घाइते भएका छन् ।
शुक्रबार बिहान बराहीघाटमा मानव सेवा फाउन्डेशनले भूमि पूजन गर्न लागेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमि पूजन गर्न लागिएको बताएको फाउन्डेशनलाई महानगरले भने अनुमति नदिएको भन्दै रोक्न खोजेको थियो ।
नगरप्रहरीले भूमि पूजन रोक्न खोजेपछि नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो । वाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमि पूजन गर्ने साईत दिएको थियो। त्यसैअनुसार, कोटिहोम आयोजक भूमि पूजन गर्न वाराहीघाट पुगेका थिए ।
पर्यटकको आवागमन हुने ठाउँ भएकाले वाराहीघाटमा कोटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ । महानगरले कोटिहोमका लागि अनुमति नदिने जनाएको छ ।