बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीले गोली चलाएको घटनाबारे मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । तीन सदस्यीय समितिले आइतबारदेखि नै घटनाको अनुसन्धान सुरु गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् ।
समितिले घटनास्थलमा पुगेर प्रहरीले कुन परिस्थिति र अवस्थामा गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको एसएसपी ढकालले जानकारी दिए ।
‘हामीले आजैदेखि छानबिनको काम सुरु गरेका छौँ। घटनास्थलमा कसरी र कुन परिस्थितिमा यस्तो हुन गयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानपछि मात्रै वास्तविकता खुल्छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय बाराको प्रारम्भिक ठम्याइअनुसार उक्त घटनामा प्रहरीले आदेशबिना गोली चलाएको पाइएको छ । प्रहरीले गोली चलाउनुअघि आवश्यक आदेश लिएको थियो वा थिएन भन्ने विषय पनि छानबिनको दायरामा पर्ने देखिएको छ ।
फेटा गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । एक पक्षले अस्पताल उद्घाटन रोक्नुपर्ने अडान राखेको थियो भने अर्को पक्षले जसरी पनि उद्घाटन कार्यक्रम सम्पन्न गर्नुपर्ने अडान लिएपछि विवाद चर्किँदै झडपमा परिणत भएको थियो ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान गम्भीर घाइते भएका छन् । ढुंगामुढाका क्रममा पाँच जना प्रहरी र केही स्थानीयसमेत घाइते भएका थिए ।
प्रदर्शनकारीले कर्मचारीलगायतका १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए भने नवनिर्मित अस्पतालको शिलालेख र कार्यक्रमस्थलमा राखिएको टेन्टसमेत तोडफोड गरेका थिए।
घटनापछि प्रहरीको गोली प्रयोग र त्यसको औचित्यमाथि प्रश्न उठिरहेका बेला मधेश प्रदेश प्रहरीले गठन गरेको समितिको अनुसन्धानले घटनाको वास्तविकता र गोली चलाउनुको परिस्थितिबारे थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।