तराई मधेशमा ढक्की, डालो र नाङ्लोलगायत बाँसका सामग्री बनाउने पेसा डोम समुदायसँग जोडिएको छ । यो पेसा डोम समुदायको पुख्र्यौली र जीविकोपार्जनको प्रमुख आधारसमेत हो ।
परम्परागत रूपमा डोम समुदायसँग जोडिएको यो पेसा पछिल्लो समय धनुषाको धनौजी गाउँपालिका–३, कटैयागाउँमा अन्य समुदायका मानिसले पनि अपनाउन थालेका छन् ।
कटैयाका मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत विभिन्न समुदायका मानिसले बाँसका सामग्री बनाउने गरेका छन् । बाँसको सामग्री बनाएर आम्दानी गर्न सकिने भएकाले यहाँका अन्य समुदायका मानिस यस पेसामा लागेका हुन् ।
स्थानीय निर्धन मुखियाले कटैयागाउँमा विभिन्न समुदायका गरी करिब दुई सय जना बाँसका सामग्री बनाउने काममा संलग्न रहेको बताउनुभयो । उहाँका अनुसार यस गाउँमा डेढ सय घरपरिवारको बसोबास छन् । जसमध्ये अधिकांश घरका सदस्य बाँसका सामग्री बनाउने गरेका छन् । यहाँ बाँसका सामग्री बनाउने काम कुनै एक समुदायमा मात्र सीमित नरहेको उहाँले जानकारी दिनुभयो ।
मुखियाले भन्नुभयो, “डोम समुदायले मात्र बाँसका सामग्री बुन्छन् भन्ने सोच सही होइन, सिप हुनेले यो काम गरेर आम्दानी गर्न सक्छन् ।” परम्परागत रूपमा डोम समुदायसँग जोडिएको भए पनि बाँसका सामग्री बनाउने सिप कुनै एउटा समुदायको मात्रै नभएको उहाँको भनाइ छ ।
बर्सौंदेखि बाँसको चोयाबाट ढक्कीलगायत विभिन्न सामग्री बनाउँदै आएका स्थानीय अरबिन्दकुमार साहले जात र समुदायमा आधारित नभएको बताउनुभयो । उहाँले डोमभन्दा बढी अन्य समुदायका मानिस यहाँ बाँसका सामग्री बुन्ने काम गर्दै आएको जानकारी दिनुभयो ।
यो कामबाट राम्रो आम्दानी हुने गरेको बताउँदै साहले भन्नुभयो, “त्यसै बसिरहँदा कसैले दुई रुपियाँ दिँदैन । जुनसुकै काम भए पनि लाज मान्नुहुँदैन । काम गरेर खानु पर्छ ।” यसबाट दिनभरमा करिब एक हजार रुपियाँसम्मको आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । कतिपय इष्टमित्रले अन्य व्यवसाय गर्न सल्लाह दिने गरेको भए पनि आफूलाई यसैमा फाइदा भइरहेको साहले सुनाउनुभयो ।
उहाँका अनुसार अहिले छठपर्व नजिकिएसँगै कटैयामा बाँसका सामग्री बनाउनेको व्यस्तता बढेको छ । छठमा बाँसका सामग्रीको बिक्री बढ्ने भएकाले सबैकोे व्यस्तता बढेको हो तर बाँसका सामग्री बनाउने काम छठपर्वमा मात्र सीमित नरहेको उहाँको भनाइ छ । वर्षभरि बजारको माग अनुसार विभिन्न सामग्री बनाएर बिक्री गर्ने गरिएको छ । बनाइएको सामग्री लिन व्यापारी गाउँमै आउने गरेको उहाँले जानकारी दिनुभयो ।