भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामै राजस्व सङ्कलनको लक्ष्य पार गरेको छ ।
साउनदेखि असोज मसान्तसम्म लगातार तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै कार्यालयले कुल लक्ष्यको करिब ११४ प्रतिशत उपलब्धि हासिल गरेको हो । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको छ। लक्ष्यभन्दा करिब ४ अर्ब ६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो।
महिनागत तथ्याङ्कअनुसार साउनमा ८ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ८ अर्ब ८३ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको थियो। यो लक्ष्यको १०३ प्रतिशत हो ।
त्यस्तै, भदौमा ९ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य राखिएकोमा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ सङ्कलन भएको थियो। यो लक्ष्यको करिब १०९ प्रतिशत हो।
असोज महिनामा भने राजस्व सङ्कलन थप बढेको देखिएको छ। उक्त महिनामा १० अर्ब ९८ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा १३ अर्ब ८८ करोड १ लाख रुपैयाँ राजस्व उठेको थियो। यो लक्ष्यको करिब १२६ प्रतिशत हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। उक्त अवधिमा लक्ष्यको ९७.१४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो। तर, चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व सङ्कलनमा उल्लेख्य सुधार देखिएको छ।
गत आर्थिक वर्षको साउनमा ९ अर्ब २९ करोड ४३ लाख, भदौमा ९ अर्ब ४३ करोड ९२ लाख र असोजमा ९ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाका अनुसार गत वर्ष विभिन्न कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कठिनाइ भएको थियो। तर, चालु आर्थिक वर्षमा बजारको अवस्था र विभिन्न वस्तुको आयातमा भएको वृद्धिका कारण राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको हो।
उनले आगामी कात्तिक र मंसिर महिनामा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको बताए। चाडपर्वका कारण बजारमा आर्थिक गतिविधि बढ्ने भएकाले आयात र राजस्व सङ्कलन दुवैमा वृद्धि हुने उनको भनाइ छ।
आयातमा विद्युतीय कारको प्रभाव, निर्यातमा भटमासको तेलको वर्चस्व
भैरहवा भन्सार कार्यालयबाट हुने आयातमा पेट्रोलियम पदार्थ, सवारीसाधन, एलपी ग्यास र औद्योगिक कच्चा पदार्थको योगदान महत्त्वपूर्ण देखिएको छ। पछिल्लो समय विद्युतीय कार पनि राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने वस्तुका रूपमा अगाडि आएको छ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व योगदानका आधारमा पैठारी हुने प्रमुख १० वस्तुको सूचीमा विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, मोटरसाइकल, एलपी ग्यास, शुद्ध फलाम र मोबाइललगायतका वस्तु रहेका छन्।
वस्तुको सङ्ख्याका आधारमा मोटरसाइकललगायतका सामग्रीको आयात बढी हुन सक्ने भए पनि राजस्व योगदानका आधारमा तयार पारिएको सूचीमा सवारीसाधन र पेट्रोलियम पदार्थ प्रमुख स्थानमा देखिएका हुन्।
विगतमा एलपी ग्यासले भैरहवा भन्सारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान गर्दै आएको थियो। पछिल्लो समय विद्युतीय कार र पिकअप गाडीलगायतका सवारीसाधन पनि राजस्व योगदानका दृष्टिले प्रमुख वस्तुका रूपमा देखिएका छन्।
यता निर्याततर्फ भने प्रशोधित भटमासको तेलले लगातार तीन महिनादेखि पहिलो स्थान कायम गरेको छ। भैरहवा भन्सार कार्यालयको साउन, भदौ र असोज महिनाको तथ्याङ्कअनुसार मूल्यका आधारमा तीनै महिनामा सबैभन्दा बढी निर्यात हुने वस्तु प्रशोधित भटमासको तेल रहेको छ।
त्यसैगरी, निर्यात हुने प्रमुख वस्तुमा खैरो सिमेन्ट, फलामे पाता, खयरको कत्था र जडीबुटीलगायत रहेका छन्। साउन महिनामा चाउचाउ, प्लास्टिकका कच्चा पदार्थ तथा खोटोबाट उत्पादित रोजिनसमेत निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले जानकारी दिए।
समग्र तथ्याङ्कले भैरहवा भन्सारबाट हुने आयातमा सवारीसाधन, पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुको राजस्व योगदान महत्त्वपूर्ण रहेको देखाएको छ। त्यस्तै, निर्याततर्फ प्रशोधित भटमासको तेलको निरन्तर वर्चस्वले नेपालको निर्यात व्यापारमा यसको महत्त्वपूर्ण भूमिका रहेको पुष्टि गरेको छ।