दीपावली तथा छठ पर्व नजिकिएसँगै जनकपुरधाममा चाडपर्वको रौनक बढ्न थालेको छ । पर्वलाई लक्षित गर्दै सहरका बजार क्षेत्र, पोखरी तथा तलाउको सरसफाइ सुरु गरिएको छ भने पूजाका सामग्री खरिद गर्ने ग्राहकको चहलपहल पनि बढेको छ ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ थालिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा जलाशय सफा गर्ने काम भइरहेको छ। विशेषगरी गङ्गासागर, धनुषसागर र अरगज्जासरलगायत जलाशयमा छठ पर्व मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइलाई तीव्रता दिइएको उनले बताए ।
पर्व नजिकिएसँगै जनकपुरधामको पेठिया बजार, गाउँघरका हाटबजार तथा मेलामा पूजाका सामग्री खरिद गर्ने ग्राहकको भीड बढ्न थालेको छ । दीपावलीमा प्रयोग हुने माटाका भाँडा, दियो तथा छठ पूजामा आवश्यक बाँसबाट निर्मित छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीलगायत सामग्रीको माग बढेको छ ।
छठ पर्वमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा फलफूल तथा प्रसाद राख्न बाँसबाट निर्मित सामग्री प्रयोग गर्ने परम्परा छ। पर्व नजिकिएसँगै माटाका भाँडा, दियो तथा अन्य पूजासामग्रीको बिक्री बढेको पेठिया बजारका व्यापारी सन्तोष साहले बताए ।
छठ पर्वको अन्तिम समयमा बजारमा हुने भीडभाडबाट बच्न श्रद्धालुहरूले दीपावलीअघि नै पूजाका सामग्री खरिद गर्न थालेका छन् । जनकपुरधाम उपमहानगरपालिका–४ निवासी सुमित्रादेवी कर्णले छठको समयमा हुने भीडबाट बच्न आवश्यक सामग्री पहिल्यै खरिद गर्न थालेको बताइन् ।
बाँसबाट निर्मित पूजासामग्रीको माग बढेसँगै पुस्तौँदेखि यस पेसामा आबद्ध डोम समुदायका कारीगर तथा व्यवसायीलाई आम्दानीको अवसरसमेत सिर्जना भएको छ । डोम समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोया र कप्टेराबाट छठ तथा अन्य पर्वमा प्रयोग हुने सामग्री निर्माण गर्दै आएका छन् ।
यसले मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै परम्परागत पेसामा आबद्ध समुदायको जीविकोपार्जनमा समेत सहयोग पुर्याएको छ ।
दीपावली र छठ पर्वको तयारीसँगै जनकपुरधाममा धार्मिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि बढेका छन् । पोखरी तथा तलाउको सरसफाइदेखि पूजासामग्रीको खरिदबिक्रीसम्म बढेको सक्रियताले जनकपुरधाममा पर्वको रौनक थपिएको छ ।