तिहार तथा छठ पर्व नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ । चाडपर्वलाई स्वागत गर्न ग्रामीण क्षेत्रका गृहिणीहरू घर लिपपोत तथा सिँगारपटारमा व्यस्त भएका छन्। आधुनिक पक्की घरको आकर्षण बढ्दै गए पनि ग्रामीण बस्तीमा माटोका घर लिपपोत गर्ने परम्परा अझै कायमै छ ।
सिरहाको गोलबजार नगरपालिका–८, भाइजीटोल चोहर्वाका फुलकुमारी उराउ र सुनिलकुमारी उराउ चाडपर्वको तयारीस्वरूप आफ्नो घर लिपपोत गरी चिटिक्क पार्न व्यस्त छन् । त्यसैगरी, कर्जन्हा नगरपालिका–११, बगहाकी रेखादेवी मण्डल पनि माटोको घर लिपपोत गर्दै चाडपर्वको स्वागतमा जुटेकी छन् ।
माटोलाई पानीमा घोलेर घरका भित्ता तथा आँगनमा लिपपोत गर्दै मण्डलले परम्परागत शैलीमा घरलाई सिँगारिरहेकी छन् । उनका अनुसार माटोको घर लिपपोत गर्नु उनीहरूको पुस्तौँदेखिको परम्परा हो ।
‘हामी माटोमै रमाउने मान्छे हौँ। हाम्रोमा हरेक वर्ष चाडपर्वको तयारी यसरी नै हुन्छ। माटोको घर लिपपोत गरेरै चाडपर्वमा घरलाई चम्काउने गर्छौँ। धनी भए पो पक्की घर बनाउनु,’ मण्डल भन्छिन् ।
आधुनिक पक्की घरप्रतिको आकर्षण बढ्दै गए पनि तराईका ग्रामीण बस्तीमा माटोका घरको आफ्नै महत्त्व र आत्मीयता कायम छ । आर्थिक अवस्था कमजोर हुँदा पक्की घर बनाउन नसकेका परिवारले समेत आफ्ना माटोका घरलाई लिपपोत र सिँगारपटार गरेर चाडपर्वको खुसी भित्र्याउने गरेका छन् ।
गोलबजार नगरपालिका–८ का ८५ वर्षीय रामु उराउ पनि माटो र मानिसबीचको सम्बन्धलाई विशेष महत्त्व दिन्छन्। उनका अनुसार मानिसको जीवन माटोसँग जोडिएको छ। आर्थिक अवस्था कमजोर भए पनि आफ्नै घरलाई चाडपर्वमा सिँगार्नु उनीहरूको परम्परा र खुसीको हिस्सा हो।
उनी भन्छन्, ‘नागरिक जतिसुकै धनी भए पनि माटोबाटै रमाएर आएको हुन्छ र अन्त्यमा पनि माटोमै जाने हो। त्यसैले आर्थिक अभावका कारण पक्की घरमा बस्न नपाए पनि आफ्नै साना घरलाई हरेक चाडपर्वमा सिँगार्ने गरेका छौँ ।’
पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै तराईका गृहिणीहरू माटोका घर लिपपोत गरी तिहार र छठको स्वागतमा जुटेका छन् । आधुनिकता र बदलिँदो जीवनशैलीका बीच पनि माटोका घर, स्थानीय संस्कृति र परम्परासँग जोडिएको आत्मीयता ग्रामीण बस्तीमा अझै जीवित रहेको छ ।