यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार मनाइँदैछ । यमराजको दूतका रूपमा मानिने कागलाई मीठा–मीठा खानेकुरा खान दिएर तथा पूजा आराधना गरी आज काग तिहार मनाउने धार्मिक परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । यमराजसमक्ष राम्रो खबर पुर्याओस् भन्ने विश्वासका साथ आज कागलाई पूजा गरी मनपर्ने खानेकुरा अर्पण गरेर खुसी पार्ने चलन छ ।
लोकव्यवहारमा काग घरको आँगन वा छतमा आएर कराएमा 'शुभ बोल, शुभ बोल' भन्ने प्रचलनसमेत रहिआएको छ। कागले घरवरपर आएर कराउँदा कुनै सन्देश लिएर आएको हुन सक्ने जनविश्वास छ ।
शास्त्रीय मान्यताअनुसार 'काकेन दधि भक्षितम्' अर्थात् कागलाई दही–भात मनपर्ने खानेकुरा मानिन्छ। त्यसैले आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुग्ने धार्मिक विश्वास रहिआएको छ ।
यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गर्ने परम्परा छ ।
तिहार पर्व यमराजसँग जोडिएको धार्मिक आस्थाका आधारमा मनाइने पर्व पनि हो । दुष्कर्म गर्नेलाई यमराज बनेर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज बनेर रक्षा गर्ने धार्मिक विश्वास यस पर्वसँग जोडिएको छ । यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ परिवारका सदस्यका नाममा यम दीपदान गर्ने क्रम शनिबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यम दीपदान दक्षिण दिशातर्फ फर्काएर गर्नुपर्ने मान्यता छ ।
यस वर्ष तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। त्यसैगरी कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिनका रूपमा मनाइने भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ ।
तिहारका अवसरमा लगातार सार्वजनिक बिदा परेसँगै बजार तथा घरपरिवारमा पर्वको चहलपहलसमेत बढेको छ ।