नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालयअगाडि अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध पुर्याउनेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाइएको छ ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकारको उल्लंघन गरिएको महासंघको आरोप छ । पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको महासंघले जनाएको छ ।
महासंघले आफ्ना माग सम्बोधनका लागि दबाब दिन विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाइनेछ ।
त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालसँग छलफल गरिनेछ भने मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थाहरूसँग छलफल गर्नेछन् ।
आन्दोलनको थप कार्यक्रमअन्तर्गत मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला हुने महासंघले जनाएको छ ।
महासंघले घोषित आन्दोलनका कार्यक्रममार्फत पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।