त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार वाङले मलद्वारभित्र प्लास्टिकले बेरेर पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ लुकाएर ल्याएका थिए । जाँचका क्रममा प्लास्टिकमा प्याक गरिएका चार थान उक्त पदार्थ फेला परेको थियो । त्यसको कुल तौल १ किलो ८०३.७७ ग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद सुनसहित वाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।