राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ब्रेक थ्रु गरेका छन् ।
३ हजार ३९९ मिटर लामो उक्त सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले विकट भौगोलिक अवस्था, जटिल भू-बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय रहेको उल्लेख गरे ।
राष्ट्रिय गौरवका आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ र पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिएको राष्ट्रपति पौडेलले बताए । काठमाडौँ उपत्यकालाई तराई–मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनले विश्वास व्यक्त गरे ।
उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुनेछ । यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
राष्ट्रपति पौडेलले आयोजना समयमै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको बताउँदै यसले राजधानी काठमाडौँ र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत आयोजनाले दूरगामी योगदान पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको सहभागिता रहेको थियो ।