सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–१, सुखचैनास्थित महादेव मठको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गाउँपालिकाले डोजर चलाएको छ ।
वर्षौँदेखि अतिक्रमणमा परेको मठको जग्गा खाली गराउने उद्देश्यले गाउँपालिकाले बुधबार दिउँसोदेखि पक्की तथा कच्ची संरचना भत्काउन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार मठको जग्गामा निर्माण गरिएका तीन वटा पक्की र दुई वटा कच्ची घर भत्काइएको छ । अतिक्रमित जग्गामा बनाइएका अन्य संरचना हटाउने कार्यसमेत जारी रहेको उनले बताए ।
जग्गा खाली गराउन गाउँपालिकाले पटक–पटक सूचना जारी गरे पनि सम्बन्धित पक्षले बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको गाउँपालिकाले जनाएको छ ।
अतिक्रमण हटाउने क्रममा कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने उद्देश्यले संरचना हटाउने कार्यलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।



