सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक सिमरा गाविसका वडा नं. १ देखि ७ सम्मका ती परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन् । नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको जग्गा नापजाँचको काम २०७१ सालमै सम्पन्न भएको थियो । तर नापजाँच र नक्साङ्कन पूरा भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहँदा स्थानीयवासीले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण सम्भव भएको उहाँको सचिवालयले जनाएको छ ।
लालपुर्जा प्राप्त भएसँगै स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनुका साथै भविष्यमा आउन सक्ने भूमिसम्बन्धी विवाद समाधान गर्नसमेत सहयोग पुग्ने सचिवालयको भनाइ छ ।
यससँगै वर्षौंदेखि आफ्नो भोगचलनमा रहेको जग्गाको कानुनी स्वामित्व पाउन नसकेका २७५ परिवारको लामो प्रतीक्षा अन्त्य भएको छ ।