महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३२ वर्षीया श्रीमती सुनिता सदाको हत्या गरेको आरोपमा संजयलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार रामगोपालपुर नगरपालिका–९, गोठ बनौलीस्थित नियासा सदाको घरमा छठ पर्व मनाउन गएको समयमा संजयले श्रीमती सुनिताको हत्या गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा गत कात्तिक २८ गते साँझ श्रीमान्–श्रीमती खाना खाएर घरको माथिल्लो तलामा सुतेका बेला मौका छोपेर संजयले श्रीमतीको हत्या गरेको बयान दिएका छन् ।
घरका अन्य सदस्यहरू छठ पूजा गर्न नजिकैको घाटमा गएको समयमा सुनिताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही दिन साँझ घरका अन्य सदस्यहरू फर्किँदा सुनिता मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कात्तिक ३० गते संजयलाई महोत्तरीको सम्सी गाउँपालिका–५, पोखरभिण्डाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टका अनुसार पक्राउ परेका संजयको साथबाट घटनास्थलबाट हराएको घरधनी नियासा सदाको मोबाइलसमेत बरामद भएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा संजयले आफूले नै श्रीमतीको हत्या गरी फरार भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टले जानकारी दिएका छन् ।