सप्तरी । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको स्थान ‘मजदुर बजार’का रूपमा परिचित छ । बिहान उज्यालो नहुँदै यहाँ मजदुरहरूको चहलपहल सुरु हुन्छ । कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर यहाँ पुग्छन् । उनीहरूको उद्देश्य एउटै हुन्छ– दिनभरको मजदुरी पाउनु ।
बेरोजगारी र जीविकोपार्जनको समस्याका कारण विभिन्न उमेर समूहका श्रमिक दैनिक कामको खोजीमा यहाँ भेला हुने गरेका छन् । जिल्लाका विभिन्न पालिकाबाट आएका उनीहरू काम दिने साहु तथा ठेकेदारको प्रतीक्षामा घण्टौँ बिताउँछन् । तर, दिनभर पर्खंदा पनि काम पाउने निश्चित हुँदैन ।
रूपनी गाउँपालिका–कटैयाका रामप्रसाद यादव परिवारको छाक टार्न दैनिक मजदुरी खोज्दै गजेन्द्र चोक आउने गरेका छन् । उनका अनुसार ठेकेदारले मजदुरको शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा छनोट गर्ने भएकाले फुर्तिला र काम गर्न सक्ने देखिनेले छिटो काम पाउने गर्छन् ।
‘दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर आठ सय रुपैयाँसम्म कमाइ हुन्छ । तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ,’ यादवले भने । काम पाउने आशमा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए रित्तै घर फर्कनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
विष्णुपुर गाउँपालिका–६ का बद्री सदाका अनुसार घर निर्माणमा काम गर्ने मिस्त्रीले दैनिक एक हजार दुई सय रुपैयाँसम्म ज्याला पाउने गरेका छन् । तर, सामान्य मजदुरले कामको प्रकृति र आफ्नो क्षमताअनुसार ६ सयदेखि एक हजार रुपैयाँसम्म मात्रै पाउने गरेका छन् । राम्रो काम गर्दा पनि उचित ज्याला नपाएको अनुभवसमेत आफूसँग रहेको उनले बताए ।
मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साह भने काममा दक्ष र नियमित आउने श्रमिकलाई प्राथमिकता दिने गरेको बताउँछन् । ‘राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ । काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ,’ उनले भने ।
उनका अनुसार कामको प्रकृति र श्रमिकको दक्षताअनुसार दैनिक सात सयदेखि एक हजार रुपैयाँसम्म ज्याला दिने गरिएको छ ।
जिल्लामा हजारौँ मजदुर रहे पनि सरकारले निर्धारण गरेको न्यूनतम ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवको भनाइ छ । मजदुरका लागि व्यवस्थित स्थान नहुँदा कामको खोजीमा दैनिक चोकमा आएर उभिनुपर्ने अवस्था रहेको उनले बताए ।
‘करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन् । तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन,’ देवले भने ।
कामको प्रतीक्षामा रहने मजदुरका लागि व्यवस्थित बस्ने ठाउँलगायत सामान्य सुविधा उपलब्ध गराउन सके पनि ठूलो राहत हुने उनको भनाइ छ ।
वर्षौँदेखि मजदुरीकै भरमा परिवार पाल्दै आएका श्रमिकका लागि गजेन्द्र चोकको मजदुर बजार रोजगारी खोज्ने साझा थलो बनेको छ । तर, दैनिक काम पाउने सुनिश्चितता, उचित ज्याला र आधारभूत सुविधाको अभावले उनीहरूको जीविकोपार्जन अझै अनिश्चित छ । श्रमिकको श्रममा निर्भर अर्थतन्त्रमा उनीहरूकै न्यूनतम आवश्यकता र अधिकारप्रति सम्बन्धित निकायको ध्यान कहिले पुग्ने भन्ने प्रश्न भने यथावत् छ ।