जनकपुरधाम । अपहरणमा परेका धनुषाका एक विद्यार्थीलाई भारतको बनारसबाट सकुशल उद्धार गरिएको छ। धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादवलाई अपहरणमुक्त गराइएको हो ।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवले चन्दनलाई भारतको बनारसबाट सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ । आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उहाँलाई नेपाल ल्याउने तयारी भइरहेको सांसद यादवले बताउनुभयो ।
काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत चन्दन छठपर्व मनाउन घर आउनुभएको थियो । पर्व सकेर काठमाडौं फर्किने क्रममा गत मंसिर २ गते बिहान करिब ६ः१५ बजे काठमाडौं पुगेका उहाँ बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा सम्पर्कविहीन हुनुभएको थियो ।
ट्याक्सी चढ्नुअघि चन्दनले आफ्ना भिनाजुसँग फोनमा कुराकानीसमेत गर्नुभएको थियो। सामान्य अवस्थामा १० मिनेटभित्र कोठा पुग्नुपर्ने भए पनि लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेको थियो । पछि उहाँ अपहरणमा परेको तथ्य सार्वजनिक भएको थियो ।
घटनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायसँग समन्वय गर्दै निरन्तर खोजी तथा उद्धारको प्रयास गरिएको सांसद यादवले बताउनुभयो । सोही प्रयासपछि भारतको बनारसबाट चन्दनलाई सकुशल उद्धार गर्न सफल भएको उहाँको भनाइ छ ।
चन्दनको खोजी तथा उद्धार कार्यमा सहयोग गर्ने भारत सरकार, भारतीय प्रहरी प्रशासन, नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषालगायतका निकायप्रति सांसद यादवले धन्यवाद व्यक्त गर्नुभएको छ ।