जनकपुरधाम । रौतहटमा प्रहरी कर्मचारीबीच भएको अपशब्द प्रयोगसहितको अडियो संवाद सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले घटनामा जोडिएका प्रहरी कर्मचारीलाई कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते भएको अडियो संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
विज्ञप्तिअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र सोही जिल्लास्थित डुमरिया सुरक्षा वेशमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग गरिएका भाषा, शब्द तथा शैलीप्रति प्रहरी कार्यालयले आपत्ति जनाएको छ ।
उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा झिकाइएको र घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
छानबिनबाट दोषी ठहरिने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरिने प्रवक्ता ढकालले स्पष्ट पार्नुभएको छ ।