सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआइएमएस) को प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबारदेखि तीन दिनसम्म अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले लाइफ नेपालसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो दिन मधेश प्रदेशका धनुषा, महोत्तरी र सर्लाही जिल्लाका ४३ वटा स्थानीय तहका महिला तथा बालबालिका शाखा र तथ्याङ्क शाखाका प्रतिनिधिहरूको सहभागिता थियो । तीन दिनसम्म सञ्चालन हुने उक्त अभिमुखिकरण कार्यक्रममा प्रदेशको १३६ वटै पालिकाका प्रतिनिधिलाई सहभागिता गराउने लाइफ नेपालका कार्यक्रम संयोजक लक्ष्मी शाहले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै सचिव राउतले सामाजिक सूचना व्यवस्थापन प्रणाली सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र लक्षित वर्गको उत्थानका लागि महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो ।
उहाँले स्थानीय तहले यस प्रणालीलाई प्रभावकारी रूपमा अवलम्बन गर्न सके लक्षित वर्गको वास्तविक अवस्था पहिचान गर्न, उनीहरूको आवश्यकता विश्लेषण गर्न तथा सोहीअनुसार योजना र कार्यक्रम निर्माण गर्न सहज हुने धारणा राख्नुभयो ।
उहाँका अनुसार सामाजिक सूचना व्यवस्थापन प्रणालीले कुन वर्ग र समुदायलाई कस्तो प्रकारको सहयोग तथा सेवा आवश्यक छ भन्ने पहिचान गर्न मद्दत गर्न साथै स्रोतसाधनको उचित परिचालनमा समेत योगदान दिन सक्छ ।
कार्यक्रममा प्रशिक्षक रामहरि गैरेले सहभागीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीको अवधारणा, यसको आवश्यकता, प्रयोग तथा कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखीकरणले सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीय तहसम्म विस्तार तथा प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयका उपसचिव बद्री र्काकीले बताउनुभयो ।
कार्यक्रममा युनिसेफका मधेश प्रदेश कार्यालय प्रमुख अनिता दहाल, युनिसेफका बिष्णु माया भटट्राई, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।