प्रधानमन्त्री बालेन्द्र शाह आज ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाह दिउँसो पौने २ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। तर, भ्रमण टोलीको पूर्ण सूची भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री शाहको भारत प्रस्थानका क्रममा औपचारिक बिदाइ कार्यक्रम तथा कुनै तामझाम नगरिने बालुवाटार स्रोतले जनाएको छ । यसअघि अमेरिका भ्रमणमा जाँदा अपनाएको शैलीमै प्रधानमन्त्री शाह विमानस्थल प्रवेश गरी सिधै विमान चढ्ने तयारीमा छन् । प्रधानमन्त्री विमानमा सवार हुनासाथ उडान भर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्रीलाई औपचारिक बिदाइ नगरिने भए पनि भ्रमण टोलीका अन्य सदस्यलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । त्यस्तै, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेल पनि भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । यसअघि प्रधानमन्त्रीका रूपमा उनले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाएका थिए। त्यसबेला पनि उनी औपचारिक बिदाइ कार्यक्रमबिना नै सिधै विमान चढेर अमेरिका प्रस्थान गरेका थिए ।
भारत पुगेपछि प्रधानमन्त्री शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलिपल्ट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।