यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा परीक्षार्थीहरूले परीक्षा हलमा मोबाइल फोन प्रयोग गर्न नपाउने भएका छन् ।
परीक्षा हलमा मोबाइल भेटिएमा जफत गरिने बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालय बारामा आयोजित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको अभिमुखिकरण कार्यक्रममा प्रजिअ अधिकारीले परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको बताएका हुन् ।
उनले ४२ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा निष्पक्ष, मर्यादित र सुरक्षित बनाउन कडा निर्देशन दिएका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले परीक्षालाई मर्यादित बनाउन जारी गरिएको नीति र निर्देशनका बारेमा जानकारी गराएका थिए । उनले परीक्षामा कुनै पनि प्रकारको अनियमितता हुन नदिन शिक्षालयहरू, सुरक्षाकर्मी, र अभिभावकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
बारामा यस वर्ष १ सय ५२ विद्यालयका ९ हजार ६ सय ८६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा संयन्त्र परिचालन गरिने बताइएको छ ।
परीक्षा हलहरूमा विद्यार्थी, परीक्षा केन्द्रका कर्मचारी तथा अन्य व्यक्तिहरूलाई अनुगमन गर्न विशेष टोली खटाइने समेत अधिकारीहरूले बताएका छन् ।