नयाँ दिल्ली | प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग (एयर रुट) सम्बन्धी विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना देखिएको छ ।
दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहको भ्रमणलाई झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको हवाई रुटको विषय टुङ्ग्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गर्न दिन भारत सकारात्मक देखिएको छ। त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नेपालले तत्काल सम्भव हुने तीनवटा हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्तामार्फत टुङ्ग्याउन प्रस्ताव गरेको छ । तर, भारतले छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग हवाई प्रवेश बिन्दुका विषयमा प्याकेजमै छलफल भइरहेको छ ।
“महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ। त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ,” उहाँले भन्नुभयो, “भारतीय पक्षले प्याकेजमै सहमति खोजेको छ। हाम्रो तर्फबाट भने छुट्टाछुट्टै सहमति गरेर पहिला तीन क्षेत्रमा हवाई प्रवेश सुरु गरौँ र बाँकी विषय क्रमशः संवादबाट टुङ्ग्याउँदै जाऔँ भन्ने प्रस्ताव गरेका छौँ ।”
मन्त्रालयका अनुसार कुन–कुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । यद्यपि, पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति जुट्ने सम्भावना बढाएको छ ।
महेन्द्रनगर रुटले सिमरामाथिको निर्भरता घटाउने अपेक्षा
महेन्द्रनगरबाट नयाँ हवाई प्रवेशमार्ग उपलब्ध भएमा पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानले वैकल्पिक मार्ग पाउनेछन्। यसले हाल अधिकांश अन्तर्राष्ट्रिय जहाजले प्रयोग गर्दै आएको बाराको सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रस्तावित मार्गको उचाइ, प्रवेश बिन्दु र सञ्चालन प्रक्रियाबारे भने थप प्राविधिक अध्ययन आवश्यक रहेको बताइएको छ । विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम तथा सुरक्षालाई ध्यानमा राखेर मार्ग निर्धारण गर्नुपर्नेछ ।
भैरहवा र जनकपुरका लागि कम उचाइको रुट प्रस्ताव
महेन्द्रनगरबाट उच्च उचाइमा जहाज प्रवेश गराउने प्रस्तावसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयलाई पनि नेपालले प्राथमिकतामा राखेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिने सहज प्रवेश तथा बहिर्गमन मार्ग महत्वपूर्ण मानिएको छ । उपयुक्त हवाई मार्गको अभावले विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिँदै आएको छ ।
त्यस्तै, जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन। विशेषगरी पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा सहज हवाई प्रवेश तथा बहिर्गमन मार्गको अभाव चुनौतीका रूपमा रहेको सम्बद्ध पक्षको भनाइ छ ।
नयाँ हवाई रुट उपलब्ध भएमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने तथा पर्यटन, व्यापार र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डेढ दशकदेखि छलफल, तर कार्यान्वयन हुन सकेन
नेपालले थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि कूटनीतिक पहल गर्दै आएको छ ।
विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो। त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन निर्देशन दिइएको थियो ।
तर, त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय बैठकमा छलफल हुँदै आए पनि नेपालले अपेक्षित नयाँ हवाई प्रवेशमार्ग प्राप्त गर्न सकेको छैन ।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदासमेत हवाई रुटको विषय प्रमुख एजेन्डामा समावेश थियो । त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्रीको भ्रमणअघि कूटनीतिक छलफल तीव्र
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति जुटाउने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो ।
यसैक्रममा पर्यटनमन्त्री खडकराज पौडेल यस विषयमा छलफल गर्न भारत पुग्नुभएको थियो। नयाँदिल्लीमा मङ्सिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाई सहयोग सङ्गठन (एससीओ) को ‘सिभिलाइजेशन डाइलग फोरम’ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गर्नुभएको थियो ।
यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग पनि छलफल गरेको थियो ।
उक्त प्रतिनिधिमण्डलमा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी हुनुहुन्थ्यो ।
विगतमा पटक–पटक सकारात्मक प्रतिबद्धता आए पनि कार्यान्वयन हुन नसकेको नयाँ हवाई प्रवेशमार्गको विषय यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणमा टुङ्गिने अपेक्षा गरिएको छ । यदि सहमति जुटेमा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको उपयोग र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।