बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–५ मा रहेको पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा परीक्षार्थीलाई मोबाइलबाट चिट चोराउन सहयोग गर्ने दुईजना निरीक्षकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा निरीक्षक रन्जु यादव र सौरभ यादव रहेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) छविरमण भट्टराई नेतृत्वको टोलीले पक्राउ गरेको हो । सहायक प्रजिअ भट्टराईले दुर्गा नमूना माध्यमिक विद्यालयकी विधार्थी र निरीक्षक सौरभ यादवको दुईवटा मोबाइल परीक्षा हलबाट बरामद गरेको जानकारी दिएका छन् । कोठा नम्बर ७ मा बसेर विधार्थीले मोबाइलको प्रयोग गरी प्रश्नपत्र बाहिर पठाएर प्रश्नको उत्तर लिने गरेको खुलासा भएको छ ।
परीक्षा सुरक्षाको जिम्मेवारीमा रहेका निरीक्षकहरूले नै चिट चोर्न सहयोग गरेको भेटिएपछि दुबै निरीक्षकलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको भट्टराईले बताए । सहायक प्रजिअको टोलीले अनुगमनका क्रममा विद्यालयको कक्षामा विद्यार्थीहरू मोबाइल लुकाएर चिटको आदानप्रदानमा संलग्न भएको अवस्थामा पक्राउ गरेको हो । परीक्षाको मर्यादा भंग गर्ने गतिविधि नियन्त्रणका लागि बारामा मूल अनुगमन समिति र १३ उप-अनुगमन समिति खटिएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा खटिएको टोलीले एसईई परीक्षा मर्यादित बनाउन गम्भीरताका साथ काम गरिरहेको बताएको छ । बारामा ५४ परीक्षा केन्द्रमार्फत १२ हजार ३९८ विद्यार्थी एसईईमा सहभागी भएका छन् । चिट नियन्त्रण र परीक्षाको अनुशासन कायम राख्न सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ ।
यस प्रकरणपछि परीक्षा केन्द्रहरूमा थप कडाइ गरिने र परीक्षाको निष्पक्षता सुनिश्चित गर्न कडा निगरानी राखिने शिक्षा विकास तथा समन्वय इकाई बाराले जानकारी दिएको छ । शैक्षिक परीक्षामा चिट चोर्नेजस्ता अनियमितता नियन्त्रण गर्न नेपाल सरकारले हरेक वर्ष विशेष टोली परिचालन गर्दै आएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार बारामा परीक्षाको शान्तिपूर्ण सञ्चालनका लागि १४ वटा अनुगमन समिति परिचालित छन् ।