वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालसम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । उनले आफू जनतासँगै रहने स्पष्ट पारेका छन् ।
शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नराम्रो काम गर्ने सरकारको संज्ञा दिए । ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई जोगाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमान घिसिङको घटनाबाट स्पष्ट बुझ्न सकिन्छ,’ उनले भने ।
प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप पनि लगाए । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, तर त्यो भएको छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, उहाँलाई जोगाउन प्रधानमन्त्रीले पूरा शक्ति लगाएका छन्,’ उनले भने ।
सरकारमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा भन्ने प्रवृत्ति माओवादी केन्द्रमा नभएको दाबी गरे । ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेड्यौं । आर्थिक विकासको गति बढाउने कुरामा जोड दिएका थियौं,’ उनले भने ।