काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ टिप्पणी गरेका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै प्रचण्डले दिवंगत राजा वीरेन्द्रप्रति आफ्नो र माओवादी आन्दोलनको सकारात्मक धारणा रहेको बताए । तर, ज्ञानेन्द्र शाह निरंकुश राजतन्त्र फर्काउने प्रयासमा लागेको भन्दै उनको बुद्धिमत्ता माथि प्रश्न उठाएका छन् ।
‘वीरेन्द्र केही हदसम्म लोकतान्त्रिक सोच राख्ने व्यक्ति थिए, तर ज्ञानेन्द्रले ८६ वर्षीय नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न लगाएर आफ्नो बुद्धि देखाइसके,’ प्रचण्डले भने ।
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । यसअघि ज्ञानेन्द्र शाहले तुलसी गिरी र कीर्तिनिधि विष्टलाई अगाडि सारेर दलहरूलाई दबाउने प्रयास गरेको भन्दै प्रचण्डले इतिहास दोहोरिएको टिप्पणी गरे ।