काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारलाई शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार भएको आरोप लगाएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको लामो समयदेखि जारी आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।
माओवादीका अनुसार, नेपाल शिक्षक महासंघसँग भएको ५ बुँदे र ६ बुँदे सहमतिका आधारमा विद्यालय शिक्षा ऐनलाई यथाशीघ्र पारित गर्नुपर्ने आवश्यकता थियो, तर कांग्रेस र एमालेको गठबन्धन सरकारले शिक्षक र विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्दै यसलाई बेवास्ता गरेको छ ।
सापकोटाले भने, "शिक्षकहरूको जायज मागलाई दश महिनासम्म बेवास्ता गरिनु, र अहिले बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ ।"
उनीहरूले तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् ।
माओवादीले सरकारलाई विशेष अधिवेशन वा अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गर्न आग्रह गर्दै शिक्षकहरूको आन्दोलनका पक्षमा आम जनसमुदायलाई उभिन आह्वान पनि गरेको छ ।