काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र देशको वर्तमान र भविष्य भएको भन्दै राजतन्त्र स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनको नाममा तोडफोड र आगजनीजस्ता गतिविधि स्वीकार्य नहुने बताए ।
प्रधानमन्त्री ओलीले भने, "बितण्डा मच्चाएर परिवर्तन ल्याउने कुरा समाजले न त ग्रहण गर्छ, न स्वीकार गर्छ । यस्तो कार्य जोसुकैले गरे पनि कानूनी कारबाहीको दायरामा आउँछ ।"
शान्तिपूर्ण आन्दोलनमा सरकारले अवरोध गरेको भन्ने प्रचार झुटो भएको बताउँदै उनले विरोधका नाममा अराजक गतिविधि हुन नदिइने उल्लेख गरे । उनले प्रतिशोध वा पूर्वाग्रहका आधारमा कारबाही नगर्ने तर कानूनी प्रक्रिया अनुसार सबैलाई जवाफदेही बनाइने बताए ।
कार्यक्रम आयोजना गर्ने र हिंसात्मक घटनामा संलग्न जोसुकैलाई नछाडिने चेतावनी दिएका प्रधानमन्त्री ओलीले सरकार बलियो रहेको र ढल्ने कुरा नउठ्ने दाबी गरे । "यी दुई दलको अठोटबाट बनेको सरकार हो, न हल्लिन्छ, न ढल्छ," उनले भने ।