वीरगंज | काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुखहरु एकमत भएका छन् ।
सरकारले वैशाख २ गतेदेखि सुरु गर्ने भनिएको विद्यार्थी भर्ना अभियान शिक्षक आन्दोलनका कारण प्रभावित हुने देखिएपछि पर्साका पालिका प्रमुखहरूले वैशाख ८ गतेदेखि १५ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको संयोजकत्वमा आइतबार सम्पन्न पालिकाका प्रमुखहरूको बैठकले जिल्लाभरका सामुदायिक विद्यालयलाई तत्काल भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको हो।
बैठकमा सहभागी पालिका प्रमुखहरूले कुनै पनि संकट वा आन्दोलनका कारण विद्यार्थीको सिकाइ अधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिएका थिए । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले विद्यालय बन्द गरेर आन्दोलन गर्नु विद्यार्थीप्रति अन्याय हुने भन्दै तत्काल पठनपाठन सुरु गरिनुपर्ने बताए ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षक आन्दोलनका कतिपय मागहरू संविधानविपरीत रहेको टिप्पणी गर्दै यस्ता मागबाहेकको आन्दोलनप्रति आफूहरूको समर्थन रहने स्पष्ट पारे ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आन्दोलनका कारण विद्यार्थी पठनपाठनबाट बञ्चित हुँदा अपजस पालिकाहरूलाई आउने भएकाले विद्यालय सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
वीरगंज महानगरपालिकाका मेयर सिंहले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको स्मरण गराउँदै त्यही क्षेत्रका शिक्षकहरू नै विद्यालय बन्द गरेर आन्दोलनमा जानु उचित नभएको बताए। उनले आन्दोलन परिमार्जन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरे ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले पनि आन्दोलनमा काठमाडौंमा सीमित प्रतिनिधिमूलक शिक्षकहरू मात्र रहेको र गाउँगाउँमा ६० प्रतिशतभन्दा बढी शिक्षकहरू उपस्थित रहेको भन्दै उनीहरू जिम्मेवार बन्नुपर्ने बताए ।
बैठकमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्सागढीका गोकर्ण पाठक, पोखरीयाका प्रदुमन चौहान, बहुदरमाईका सिंगासन साह तेली, छिपहरमाईका मनोजकुमार गुप्ता, विन्दवासिनीकी उपाध्यक्ष ज्योती देवी चौरसिया लगायत पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो ।