राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डको आकस्मिक बैठकले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा नरोकिने स्पष्ट पारेको हो । पछिल्लो समय शिक्षक तथा कर्मचारीहरुले पुराना माग पूरा नभएको भन्दै आन्दोलन चर्काएका छन् भने शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।
यी राजनीतिक तथा प्रशासनिक उतारचढावका कारण परीक्षाको नियमितता प्रति शंका पैदा भएको थियो । तर बोर्डले स्पष्ट निर्णय गर्दै विद्यार्थी र अभिभावकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा नेतृत्वको बैठकले परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्थासहित आवश्यक तयारी पूरा भइसकेको र कुनै पनि हालतमा परीक्षा तालिका प्रभावित नहुने जनाएको छ। कक्षा १२ को परीक्षा देशभरका १४ सय ५० परीक्षा केन्द्र मार्फत सञ्चालन गरिने छ ।
यस वर्ष कक्षा १२ मा करीब ४ लाख ६० हजार विद्यार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षालाई निष्पक्ष, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको बताएको छ । साथै बोर्डले अभिभावक, शिक्षक र स्थानीय प्रशासनलाई परीक्षाको सफल सञ्चालनमा सहयोग गर्न अनुरोध गरेको छ ।
परीक्षा सुरु हुने समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा तालिका अनुसार वैशाख ११ गते पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।