नवलपरासी | नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सुख्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार मंगलबार दिउँसोदेखि निरन्तर खसिरहेको सुख्खा पहिरोका कारण सडकको बायाँतर्फ पूर्ण अवरोध भएको छ। अहिले दुवैतर्फ सवारी आवागमन ठप्प भएको र पहिरो हटाउने प्रयास जारी रहेको उनले बताए ।
दाउन्ने क्षेत्रमा सडक विस्तारको क्रममा कालोपत्रे खनेर पर्खाल बनाउने काम भइरहेका बेला आज अचानक पहिरो खसेपछि सयौँ सवारी साधन जाममा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले पहिरो खसिरहेकाले भित्ता काटेर मात्रै सडक खुलाउने अवस्था रहेको बताए। उनका अनुसार अहिले पनि खतरा कायमै रहेको छ ।
यस क्षेत्रमा केही दिनदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक विस्तारको कामका लागि आवागमन रोकिने गरिएको भए पनि दिनको समयमा खसेको पहिरोले आकस्मिक समस्या निम्त्याएको हो ।
सडक सुचारु गर्न डोजर र अन्य उपकरण प्रयोग गरेर पहिरो हटाउने कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।