काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र विद्यालय बन्द गरी चाबीसहित काठमाडौँमा आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।
परिषद्ले मंगलबार जारी गरेको पत्रमार्फत् सातै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा क्रियाशील कार्यसमितिका साथै सम्पूर्ण विद्यालयका कर्मचारीहरूलाई उक्त निर्देशन दिएको हो ।
परिषद्को भनाइअनुसार, आन्दोलनको दोस्रो चरण चलिरहेको बेला कर्मचारीहरू विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत संलग्न भएको खबर प्राप्त भएपछि कडा निर्णय गर्नुपरेको हो ।
पत्रमा भनिएको छ, “नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेका बेला कर्मचारीहरू विभिन्न गतिविधिमा संलग्न भएको खबर आएपछि चाबी लिएर काठमाडौँमा जारी आन्दोलनमा अनिवार्यरूपमा सहभागी हुन निर्देशनात्मक अनुरोध गरिन्छ ।”
विद्यालय शिक्षा ऐनको माग गर्दै २२ दिनदेखि शिक्षक तथा कर्मचारीहरू काठमाडौँमा आन्दोलनरत छन्। उनीहरूले ऐन जारी नभएसम्म कुनै हालतमा विद्यालय नफर्किने अडान लिएका छन् ।
सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने बताएको छ भने निजामती कर्मचारीहरू त्यसमा सहभागी नहुने घोषणा गरिसकेका छन् ।
.jpg)