काठमाडौं । विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित विभिन्न माग राख्दै शिक्षकहरूले सुरु गरेको आन्दोलन २३ औँ दिनमा पुगेको छ । गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन हाल काठमाडौंमा केन्द्रीत भइरहेको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेका आन्दोलनकारी शिक्षकहरू बिहीबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा छाता ओढेर चर्को घाममा प्रदर्शनमा उत्रिएका थिए ।
सरकारद्वारा आन्दोलन स्थगनको आग्रह गरिएको भए पनि मागप्रति तदारुकता नदेखाएको भन्दै आन्दोलनकारीहरू पछि हटेका छैनन् ।
शिक्षक र सरकारबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन ।
यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र रघुजी पन्तलाई नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेका छन् ।
शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट अडान लिएका छन् ।