गुल्मी | गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्कन कडा चेतावनी दिएको छ । गाउँपालिकाले आगामी वैशाख १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन दिएको हो ।
शिक्षक महासङ्घको आव्हानमा जारी आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरूमा पठनपाठन प्रभावित भएको भन्दै पालिकाले शिक्षण गतिविधि नियमित गर्न शिक्षक तथा कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।
गाउँपालिकाले जानकारी गराउँदै भनेको छ, “१४ गतेदेखि विद्यालय समयमा उपस्थित नभएका शिक्षक कर्मचारीले आफैँ राजीनामा दिनुपर्नेछ वा सरुवा प्रक्रिया अगाडि बढाइनेछ ।”
गाउँपालिकाले आन्दोलनका कारण विद्यार्थीको भविष्य प्रभावित भएको भन्दै सबै पक्षलाई जिम्मेवारीपूर्वक आआफ्नो कार्यमा फर्कन आह्वानसमेत गरेको छ ।
