काठमाडौँ । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । सहमतिबाट असन्तुष्ट कर्मचारीहरूले उक्त सहमति आफूहरूलाई मान्य नहुने भन्दै छुट्टै आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका हुन् ।
बिहीबार राजधानीको रत्नराज्य माध्यमिक विद्यालयमा उक्त सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा कर्मचारीहरूले होहल्ला गर्दै असन्तुष्टि जनाएका थिए ।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले अघिल्ला वर्षका आन्दोलनहरूमा समेत विद्यालय कर्मचारीको पक्षमा न्याय नभएको आरोप लगाए । ‘२०७९, २०८० र २०८१ सालमा भएका आन्दोलनहरूमा हाम्रो हित नभएको हो, हिजोको सहमतिमा पनि केही छैन,’ योगीले बताए ।
उनका अनुसार विद्यालय कर्मचारीको सञ्चित बिदा, तलब श्रेणी, कार्यालय सहयोगी र लेखापालहरूको पारिश्रमिक लगायतका विषयमा कुनै सुनुवाइ नभएको हो । ‘हामीले कार्यालय सहयोगीका लागि २६ हजार ८२ र लेखाका लागि ३४ हजार ९ सय मागेका थियौँ, तर त्यो समेत समेटिएन,’ योगीको भनाइ थियो ।
योगीले शिक्षकहरूलाई सरकारले ललिपप देखाएको र महासंघले विद्यालय कर्मचारीलाई अझ ठूलो ललिपप देखाएको टिप्पणी गर्दै अब कसैको पक्ष नलगी छुट्टै आन्दोलनमा जाने घोषणा गरे । ‘एक वर्षसम्म पनि सडकमा बस्न तयार छौँ,’ उनले भने ।
साथै, उनले आन्दोलनमा उठेको आर्थिक सहयोग अपारदर्शी रहेको आरोप पनि लगाए । महासंघका पूर्व अध्यक्ष लक्ष्मीकिशोर सुबेदीको नेतृत्वमा ठुलो आर्थिक घोटाला भएको समेत उनले दाबी गरे ।