काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै तोकिएकै मिति वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने स्पष्ट पारेको हो ।
बोर्डको लोगो प्रयोग गरी अनधिकृत रूपमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै बोर्डले यस्तो भ्रममा नपर्न सम्पूर्ण विद्यार्थी, शिक्षक र सरोकारवालालाई आग्रह गरेको छ।
बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सम्बन्धित निकायलाई आवश्यक पत्राचार गरिसकिएको छ । बाँकी तयारी कार्यहरू समयमै पूरा गरेर मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा हुने भनिएपनि देशभरका शिक्षक आन्दोलनमा उत्रिएपछि बोर्डले परीक्षा वैशाख २१ गतेदेखि हुने गरी संशोधित तालिका सार्वजनिक गरेको थियो। अब शिक्षक आन्दोलन स्थगित भएसँगै परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने पक्का भएको हो ।
