काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरिरहेको आलोचनाको कडा बचाउ गरेका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा एमाले निकट जिफन्टद्वारा भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कलाकार, गायक, चित्रकार जस्ता सिर्जनात्मक क्षेत्रका व्यक्तिमाथि गरिएको असहिष्णुताको आलोचना गरे ।
प्रधानमन्त्री ओलीले सत्ताबाहिरै यति उग्रता देखाउनेहरू सत्तामा पुगेको भए के गर्थे भनेर प्रश्न गर्दै, अभिव्यक्तिको स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिए। उनले भने, “कलाकार होस्, गायक होस्, चित्रकार होस्—उनीहरूलाई प्रशंसा गर्ने बाहेकको गीत नसुन्ने रे! नसुने नसुनोस्, के फरक पर्छ ?”
सुरक्षा पन्तले केही दिनअघि एक अन्तर्वार्तामा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहमाथि टिप्पणी गरेकी थिइन्, जसपछि उनी राजतन्त्र समर्थकको आलोचनाको सिकार बनेकी थिइन्। ओलीले त्यस सन्दर्भमा हिजो पनि युवराज हृदयेन्द्रलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका थिए ।
ओलीले भने, “एउटा गायकको गीत सुन्दैन, उनीहरूलाई ‘गुड लुकिङ’ भन्न नहुने, राम्रो अभिनय गर्छ भन्न पनि नपाइने, अनि के चाहिँ भनिदिने त? यसलाई व्यवस्था छैन भन्न पनि नपाइने !”
उनले असहिष्णु चरित्र भएका तत्वहरू फेरि जनताका टाउकोमा टेकेर रैती बनाउने सपना देखिरहेका छन् भन्दै सचेत रहन आग्रह गरे।