काठमाडौं । भारतले पाकिस्तानी जहाजमाथि आफ्नो आकाश प्रयोगमा प्रतिबन्ध लगाएको छ । बुधबार भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाज, भाडामा चल्ने विमान तथा सैन्य जहाजहरूलाई भारतीय हवाई क्षेत्र प्रयोग गर्न रोक लगाइएको जनाएको हो ।
यो निर्णय बिहीबार मध्याह्न १२ बजेदेखि कार्यान्वयनमा आएको र मे २३ सम्म कायम रहने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
भारतको उक्त कदम पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको निर्णयको प्रतिवादस्वरूप आएको हो ।
पाकिस्तानबाट सिंगापुर, मलेसियाजस्ता देशतर्फ जाने जहाजले सामान्यतया भारतीय आकाश प्रयोग गर्दै आएको भए पनि अब चीन वा श्रीलंका हुँदै लामो मार्ग अपनाउनुपर्ने भएको छ ।
यसले इन्धन तथा समय दुबै खर्च बढाउने बताइएको छ । यद्यपि पाकिस्तानले भारतको तुलनामा कम उडान गर्ने भएकाले यसबाट त्यति धेरै असर नपर्ने अधिकारीहरू बताउँछन् ।
विपरित रुपमा भारतका एयर इन्डिया, इन्डिगो जस्ता ठूला एयरलाइन्सहरू पाकिस्तानको हवाई मार्ग प्रयोग गर्दै युरोप, मध्यपूर्व र अमेरिका उडान गर्ने भएकाले भारतीय पक्ष बढी प्रभावित हुने अनुमान छ ।
यसैबीच भारत र पाकिस्तानबीच सीमामा गोली हानाहान भइरहेको र जम्मु–कश्मिरस्थित एलओसी क्षेत्रमा दुबै पक्षबीच झडप बढेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।
भारतले जम्मु-कश्मिरमा हालै भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आक्रमणमा २६ जना मारिएका थिए । पाकिस्तानले भने उक्त दाबी अस्वीकार गरेको छ ।
संयुक्त राष्ट्रसंघले दुबै देशलाई संयमता अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।