काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी फेल हुनुलाई शिक्षकहरूले गम्भीर रूपमा नलिएको आरोप लगाउँदै यसलाई "मजाक" बनाएको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर विषयप्रति केही शिक्षकको सोचप्रति आश्चर्य प्रकट गरे। “५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावानहरू फेल हुनु र त्यो कुरा शिक्षकहरूले हल्का रूपमा लिनु हास्यास्पद छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनका क्रममा एक शिक्षकले सामाजिक सञ्जालमा आफूलाई गाली गरेको भिडियोसमेत हेरेको बताउँदै ती शिक्षकले "४८ प्रतिशत पास हुनु भने पर्याप्त हो" भन्ने धारणा राखेको उल्लेख गरे। उनले यस्तो सोचले देशको भविष्यप्रति गम्भीर असर पार्ने चेतावनी दिए ।
“म पढाउँदिन, तर मलाई दुख लाग्छ,” प्रधानमन्त्रीले भने, “नेपाली विद्यार्थीहरू अत्यन्त ट्यालेन्टेड छन्। दुर्गमबाट संघर्ष गर्दै आएका यिनै विद्यार्थीहरूको भविष्य कक्षा १० मै रोक्नु अन्याय हो ।”
प्रधानमन्त्रीले शिक्षक तथा सरोकारवालाहरूलाई विद्यार्थीको प्रतिभा पहिचान गर्दै सबै विषयमा समावेशी मूल्यांकन गर्नुपर्ने सुझाव पनि दिए ।