बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा मंगलम डाइग्नोस्टिक सेन्टरको नयाँ शाखा सञ्चालनमा आएको छ ।
वरिष्ठ चिकित्सक डा. रवीन्द्र सिंहको नेतृत्वमा सञ्चालनमा रहेको मोर्डन तराई हस्पिटलले मंगलम डाइग्नोस्टिक सेन्टरसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । डाइग्नोस्टिक सेन्टर मोर्डन तराई हस्पिटलको अगाडि नै स्थापना गरिएको छ, जसले हस्पिटलका बिरामीसँगै आसपासका सर्वसाधारणलाई लक्षित गरेर सेवा प्रदान गर्नेछ ।
विगत लामाे समयदेखि बीरगञ्जमा सञ्चालनमा रहेको मंगलम डाइग्नोस्टिक सेन्टरले आधुनिक उपकरण र दक्ष विशेषज्ञहरूमार्फत सेवा प्रदान गर्दै आएको छ । सिमरामा सेवा विस्तार हुनु आफैंमा उपमहानगरको स्वास्थ्य सेवामा एक महत्वपूर्ण उपलब्धि हो ।
उद्घाटन कार्यक्रममा डाइग्नोस्टिक सेन्टरका सञ्चालक प्रा. डा. अमरनाथ ठाकुरले भने, “पैसाको अभावमा कसैले उपचार नपाउने अवस्था अन्त्य गर्ने हाम्रो संकल्प हो । हामी यहाँ गुणस्तरीय सेवा सस्तो मूल्यमा उपलब्ध गराउनेछौं ।” उनले विपन्न वर्गका बिरामीका लागि छुट सुविधा र आवश्यक परेमा निःशुल्क परीक्षणसमेतको व्यवस्था गरिने जानकारी दिए ।
उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथि रहेको थिए । त्यसैगरी कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र चौधरी, शैक्षिक अगुवा सुमनकुमार भट्टराई, पूर्व प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्री, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सञ्जय साह, महासचिव प्रकाश गिरी, नेपाली कांग्रेस जीतपुरसिमराका नगर सभापति छविलाल शर्मा, पत्रकार महासंघ बाराका सचिव पुष्करराज खतिवडा लगायतको उपस्थिति रहेकाे थियो ।
उपस्थित वक्ताहरूले यस्तो डाइग्नोस्टिक सेवा सिमरामा स्थापना हुनु क्षेत्रका नागरिकको स्वास्थ्य अधिकारमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनीहरूले यस्ता स्वास्थ्य संस्थाहरूलाई स्थानीय तहबाट समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।
नवस्थापित डाइग्नोस्टिक सेन्टरमा ब्लड टेस्ट, युरिन एनालाइसिस, इको, एक्स–रे, इसीजी, युएसजी, हार्मोन प्रोफाइल, थाइराइड टेस्ट, लिपिड प्रोफाइल, लिभर फङ्सन टेस्ट, किड्नी फङ्सन टेस्टजस्ता प्रमुख सेवा उपलब्ध हुने जनाएको छ ।